फर्केर हेर्दा
-नवीन मरासिनी
आफैँ बितेको पत्तो
नपाई एक वर्ष
बितिसकेछ।
म मरेको दिनदेखि
आजसम्म फर्केर हेर्दा
मनमा एउटा अनौठो
किसिमको हलचल
भइरहन्छ। कहिलेकाहीँ
लाग्छ—समय बितेको
हो कि म
नै समयबाट छुट्टिएको
हुँ? हिजोजस्तो लाग्छ
त्यो रात। त्यही
घर, त्यही मान्छेहरू,
त्यही खाना, त्यही
सामान्य कुराकानी।
तर त्यस रातपछि
म रहेनछु।
मलाई मृत्युबाट साह्रै
डर लाग्थ्यो। सायद
अरूलाई जस्तै। मृत्यु
भन्ने शब्द सुन्नेबित्तिकै मनभित्र कताकता
चिसो पस्ने। आफ्नै
मृत्युको कल्पना
गर्दा त झन्
शरीरै सिरिङ्ग हुन्थ्यो।
कहिलेकाहीँ एक्लै
हुँदा सोच्थेँ—म
मरेँ भने के
होला? घर कस्तो
होला? बुढी के
गर्लिन्? छोराछोरीको
हालत के होला?
तर मृत्यु यसरी
आउँछ भन्नेचाहिँ कहिल्यै
सोचेको थिइनँ।
त्यो दिन अरू
दिनजस्तै सामान्य
थियो।
बेलुका परिवारसँगै बसेर
खाना खायौँ। घरमा
खासै केही असामान्य
थिएन। हाँसोठट्टा भयो
कि भएन, अहिले
ठ्याक्कै सम्झन
सक्दिनँ। तर
सबै आफ्नै तालमा
थिए। खाना खाइसकेपछि
बिस्तारै सबै
आ–आफ्ना कोठातिर
लागे। घर निदाउने
तयारीमा थियो।
मलाई भने त्यसैबेलादेखि हल्का हल्का
छाती दुखेजस्तो भइरहेको
थियो।
तर त्यस्तो दुखाइ
पनि के नै
हो र जस्तो
लाग्यो। कहिलेकाहीँ
ग्यासले पनि
त दुखाउँछ। थकानले
पनि होला। त्यसैले
कसैलाई केही भनिनँ।
मनले भन्यो—‘भोलि
हेरौँला।’
सुत्न गएँ।
तर निद्रा आएन।
छातीमा अलिक गाह्रो–गाह्रो भइरहेको थियो।
सास फेर्दा पनि
कताकता असजिलो। पहिलेभन्दा
अलि फरकजस्तो लाग्यो।
केहीबेर यताउता
फर्किएँ। आँखा
चिम्लिएर सुत्ने
प्रयास गरेँ। तर
मनले मानेन।
अन्ततः बुढीलाई भनेँ,
“मलाई
कता–कता गाह्रो
भएजस्तो भा'छ छातीमा। भोलि
बिहान अस्पताल जानुपर्छ
कि क्या हो?”
उनले पनि सामान्य
ढङ्गमै भनिन्,
“फलोअप
जानुपर्ने बेला
पनि भा'छ
नि। औषधि पनि
अस्ति त घटाइदिएका
हुन् नि है!”
उनको आवाजमा चिन्ता
त थियो होला,
तर त्यसबेला हामीमध्ये
कसैले पनि त्यो
कुरालाई मृत्युको
संकेत भनेर कहाँ
बुझ्नु?
केही बेरपछि शरीरमा
पसिना आउन थाल्यो।
पहिले निधारमा स–साना थोपा। अनि
बिस्तारै शरीरै
पसिनाले भिजेजस्तो।
म आफैँ पनि
छटपटिन थालेँ। अब
भने केही गडबड
छ भन्ने महसुस
भयो।
मेरो छटपटी देखेपछि
बुढीले छोरालाई बोलाइन्।
“बुबालाई
गाह्रो भयो जस्तो
छ। अस्पताल जाऊँ।”
त्यसपछि घरको
वातावरण एकाएक
बदलियो।
केही मिनेटअघिसम्म निदाउने
तयारीमा रहेको
घरमा अचानक हतार
सुरु भयो। कोही
चप्पल खोज्दै थियो,
कोही ढोका खोल्दै।
कसैले के लिनुपर्छ,
के पर्दैन भन्ने
सोच्ने फुर्सद नै
पाएन।
छोराले बाइक निकाल्यो।
म बीचमा बसेँ।
बुढी पछाडि।
र हामी अस्पतालतिर
लाग्यौँ।
रात गहिरिँदै थियो।
सडक लगभग सुनसान
थियो। बाइकको आवाजबाहेक
वरिपरि खासै केही
सुनिँदैनथ्यो। म
छोराको पछाडि बसेर
अस्पताल पुग्ने
आशामा थिएँ।
मनमा एउटै कुरा
थियो—
‘अस्पताल
पुगेपछि ठीक
हुन्छ।’
त्यसबेला पनि
मलाई आफू मर्दैछु
भन्ने लागेकै थिएन।
हामी अस्पताल पुग्दा
रातको करिब बाह्र
बजेको थियो क्यार।
इमर्जेन्सीमा पुर्याइयो। डाक्टरहरू हतार–हतार आए। कसैले
छाती जाँच्यो, कसैले
नाडी हेर्यो।
प्रश्नहरू सोधिए।
वरिपरि सेतो कोट
लगाएका मानिसहरू थिए।
अस्पतालको त्यो
परिचित गन्ध, चम्किला
बत्तीहरू, हतारिएका
पाइला—सबै कुरा
एकैचोटि भइरहेजस्तो
लाग्यो।
बुढी बिल तिर्न
अकाउन्ट सेक्सनतिर
गएकी थिइन्।
छोरो डाक्टरसँगै उभिएको
थियो।
मलाई लाग्यो—अब
केही बेरमा सबै
ठीक हुन्छ।
तर केही बेरमै
डाक्टरले एउटा
यस्तो कुरा भनिदिए,
जसले त्यहाँ उभिएका
सबैको संसार एकैछिनमा
रोकियो।
“नो
मोर।”
बस्।
त्यति नै।
त्यसै क्षण म
मरिसकेको रहेछु।
ठाउँको ठाउँ।
म त मरेँ
यार!
अचम्म के भने—मलाई त्यसबेला पनि
आफू मरेको कुरा
पत्यार लागिरहेको थिएन।
जुन मृत्युबाट जीवनभर
डराएँ, त्यही मृत्यु
यति सजिलै आइपुग्यो।
न कुनै लामो
तयारी, न कुनै
अन्तिम घोषणा, न
कसैलाई अन्तिमपटक हेर्ने
मौका। केही घण्टाअघि
परिवारसँगै खाना
खाएको मान्छे केही
घण्टापछि अस्पतालको
बेडमा निर्जीव भएर
सुतिरहेको थियो।
बुढीका लागि त्यो
घटना अप्रत्याशित मात्र
थिएन—अकल्पनीय थियो।
छोराहरूका लागि
पनि।
र सायद, मेरै
लागि पनि।
छोराले तुरुन्त भिनाजुलाई
फोन गर्यो।
“बुबा...”
त्यसपछि शब्दहरू
उसको घाँटीमै अड्किए
होलान्।
मेरो मृत्युको खबर
विस्तारै फैलिन
थाल्यो।
पहिले घरका मान्छेहरूमा।
त्यसपछि आफन्तहरूमा।
अनि साथीभाइहरूमा।
फोनहरू बज्न थाले।
कसैले पत्याएन। कसैले
फेरि सोध्यो—“के
भयो?” कसैले भन्यो—“हैन होला।” कसैले
अस्पतालमै फोन
गर्यो। कसैले
राति नै घरतिर
आउन खोज्यो।
तर रात परिसकेको
थियो।
धेरैले त्यो रात
थाहा नै पाएनन्।
कतिपय आफ्नै घरमा
गहिरो निद्रामा थिए।
कसैको मोबाइल साइलेन्ट
थियो। कसैलाई बिहान
उठेपछि मात्र थाहा
भयो—म अब
छैन।
र त्यसरी, एक
सामान्य दिन
असामान्य अन्त्यमा
पुग्यो।
त्यो रातसम्म म
थिएँ।
त्यो रातपछि—म
केवल सम्झनामा बाँचेको
मान्छे भएँ।
****************************************************************************************************
अहिले
फर्किएर हेर्दा लाग्छ—जिन्दगीमा धेरै हतार गरिएछ।
खासमा
भन्नुपर्दा, बाँच्नै जानिएनछ।
जिन्दगीभर
दौडिरहेँ। तर कहाँ पुग्नका
लागि दौडिरहेको थिएँ, त्योचाहिँ कहिल्यै सोचिनँ। जागिर, तलब, पैसा, पावर, पद र प्रतिष्ठा—यिनै कुराका पछाडि दौडँदा दौडँदै जीवनको ठूलो हिस्सा कहिले बित्यो, पत्तै भएन।
घर–जग्गा जोडियो । गाडी , सुन, क्रिप्टोमा लगानी
केही
सम्पत्ति बनाइयो। जागिरमा पनि राम्रै उचाइमा पुगियो। सानै उमेरमा जागिर सुरु गरेको हुनाले पैँतालीस वर्षमै पेन्सन निस्कने सौभाग्य मिल्यो।
त्यसबेला
लाग्थ्यो—अब बल्ल जिन्दगी
सुरु हुन्छ।
तर
विडम्बना हेर्नुस् त!
पेन्सनको
सुख दुई वर्ष पनि राम्ररी भोग्न पाइएन।
अहिले
सोच्दा हाँसो पनि उठ्छ, मन पनि अमिलो
हुन्छ।
जागिरमा
अफिसर हुँदाको शान नै अर्कै थियो।
हातमा पद थियो, अगाडि–पछाडि मान्छे थिए। एउटा फोन गर्दा काम हुने अवस्था थियो। कार्यक्रममा बोलाउँदा अगाडिको कुर्सी छुट्टै हुन्थ्यो। बोल्दा मानिसहरू ध्यान दिएर सुन्थे। हिँड्दा पनि आफ्नो चालमा एउटा छुट्टै आत्मविश्वास हुन्थ्यो।
त्यो
शान मलाई मन पर्थ्यो।
सायद
अलि बढी नै मन पर्थ्यो।
त्यसैले
होला, साथीभाइलाई समय दिन सकिनँ। समाजका मानिससँग बसेर दुई शब्द मन खोलेर कुरा
गर्ने फुर्सद भएन। जन्मगाउँका साथीहरू बिस्तारै टाढिँदै गए। आफन्तसँगको भेटघाट पनि चाडपर्व र आवश्यकतामा सीमित
हुन थाल्यो।
मसँग
समय थिएन।
वा
भनौँ—समय थियो, तर मैले समयलाई
अरू कुराभन्दा सस्तो ठानेँ।
मलाई
लाग्थ्यो, अहिले अलि दुःख गरौँ, अहिले अलि व्यस्त भइयो भने पछि आरामै आराम छ।
छोराले
भर्खर प्लस टु सकेको थियो।
उसलाई
डाक्टर पढाउने ठूलो रहर थियो। प्राइभेटमै भए पनि पढाउनुपर्छ
भनेर एउटा जग्गा छुट्याएर राखेको थिएँ। मनमनै हिसाब पनि गरिसकेको थिएँ—यति यहाँबाट, यति बैंकबाट, यति बचतबाट। छोराको भविष्यका लागि एउटा बाटो बनिसकेको थियो।
छोरी
अलि सानी थिई।
उसको
भविष्यका लागि पनि केही न केही जोहो
गरिसकेको थिएँ। आफूले नसके पनि छोराछोरीलाई जिन्दगीभर पुग्ने गरी केही छोडेर जानुपर्छ भन्ने सोच थियो। उनीहरूलाई मैले दुःख देख्न नपरोस् भन्ने चाहेको थिएँ।
श्रीमतीलाई
पनि जागिर गर भनेर घरबाहिर
पठाएको थिएँ।
घरको
आम्दानी बढोस्, भविष्य सुरक्षित होस्, छोराछोरीका लागि अझ राम्रो गर्न
सकियोस्—यिनै सोच थिए।
आखिर
नपुग्दो के थियो र?
घर
थियो।
सम्पत्ति
थियो।
राम्रो
जागिर थियो।
पेन्सन
थियो।
सानो
र सुखी परिवार थियो।
छोराछोरी
थिए।
भविष्यका
लागि योजनाहरू थिए।
मसँग
धन थियो, सम्पत्ति थियो, परिवार थियो, समाजमा इज्जत थियो। अनि सबैभन्दा ठूलो कुरा—भोलि अझ राम्रो हुन्छ
भन्ने विश्वास थियो।
मलाई
लाग्थ्यो, मैले जिन्दगी जितिसकेको छु।
मेरो
उच्च ओहदाको जागिरले घरको पनि शान बढेको थियो, परिवारको पनि। समाजमा हाम्रो छुट्टै परिचय थियो।
नातापाता
र जन्मगाउँका साथीभाइले चिन्ने ‘म’ एउटा थियो।
तर जागिर, पद र मेरो
आफ्नै रापतापले बनाएको ‘म’ अर्कै थियो।
म
वरिपरि हेर्थेँ—मलाई घेरेर उभिएका धेरै मान्छे देखिन्थे।
तर
अहिले फर्केर हेर्दा थाहा हुन्छ—तीमध्ये कति मेरो वरिपरि थिए र कति मेरो
पदको वरिपरि, त्यो
छुट्याउन मलाई त्यतिबेला कहिल्यै फुर्सद भएन।
मलाई
लाग्थ्यो, सबै आफ्नै हुन्।
सबै
मेरो मान्छे हुन्।
त्यो
भ्रम पनि निकै मीठो थियो।
शान
नै बेग्लै थियो।
खासमा
मलाई केही कुराको कमी थिएन।
तर
एउटा कुराको कमी रहेछ—समयको।
आफ्नै
मान्छेका लागि समयको।
साथीका
लागि समयको।
परिवारका
लागि समयको।
र
सायद आफ्नै लागि पनि समयको।
साथीभाइको
लहैलहैमा लागेर अलिअलि रक्सी खान पनि सिकियो। सुरुमा ‘साथीभाइसँग बसेर रमाइलो गर्न’ भनेर सुरु भएको कुरा बिस्तारै बानीजस्तै हुन थाल्यो।
घरमा
आएर श्रीमती र छोराछोरीसँगै बस्ने,
उनीहरूका कुरा सुन्ने, हाँस्ने, रमाइलो गर्ने—यी कुराहरू बिस्तारै
मेरो जीवनबाट हराउँदै गए।
छोराले
स्कुलमा के गर्यो?
छोरीले
आज के नयाँ कुरा
सिकिन्?
श्रीमतीलाई
दिनभरि के भयो?
यी
साना–साना प्रश्नहरू सोध्ने फुर्सद पनि मैले कहाँ निकाल्न सकेँ र?
म
घरमा हुन्थेँ, तर घरमा हुँदैनथेँ।
शरीर
घरभित्र हुन्थ्यो, मनचाहिँ जागिर, अफिस, बैठक, काम, पैसा र भोलिको योजनातिर
दौडिरहेको हुन्थ्यो।
अहिले
सम्झिँदा लाग्छ—मैले परिवारलाई सुख दिन खोज्दा
परिवारसँगै सुखी भएर बाँच्नै बिर्सिएछु।
त्यतिबेला
मलाई लाग्थ्यो—अझै केही वर्ष मेहनत गरौँ। पेन्सन आएपछि सबै कुरा मिलाउँला।
त्यसपछि
छोराछोरीसँग बसेर समय बिताउँला।
श्रीमतीसँग
घुम्न जाउँला।
पुराना
साथीभाइ भेटौँला।
गाउँ
जाउँला।
घरमा
बसेर बिहानको चिया सँगै खाउँला।
छोराछोरीसँग
हाँसौँला।
श्रीमतीसँग
ढुक्क भएर कुरा गरौँला।
जागिरे
जीवनमा छुटेका सबै पलहरू फर्काएर ल्याउँला।
मलाई
विश्वास थियो—समय बाँकी
छ।
त्यही
एउटा भ्रम रहेछ।
समय
बाँकी छ भन्ने विश्वासमा
मैले समयलाई नै खर्च गरिरहेको
रहेछु।
जागिरे
जीवनमा मैले परिवारका लागि कमाएँ।
तर
परिवारसँगै बसेर बाँच्ने समयचाहिँ कमाएँ कि गुमाएँ—त्यो
हिसाब कहिल्यै गरिनँ।
अहिले
मृत्युको पारिबाट फर्केर हेर्दा थाहा हुन्छ—
घर–जग्गा जोडेर के पाएँ?
पेन्सन
पाएर के पाएँ?
पद
र प्रतिष्ठा पाएर के पाएँ?
छोराको
भविष्यका लागि जग्गा छुट्याएँ, छोरीका लागि पैसा जोडें, श्रीमतीको भविष्य सुरक्षित गर्न खोजेँ।
तर
उनीहरूसँग बिताउनुपर्ने आजहरू
चाहिँ कसले छुट्याइदियो?
त्यो
जग्गा त छ।
पैसा
पनि छ।
पेन्सन
पनि आउँछ।
घर
पनि उस्तै छ।
तर
म छैन।
मैले सबैभन्दा
धेरै जोगाएर बचाउन खोजेका दिनहरू आउदै नआई पो सकिएछन। परिवारसँग बिताउन खोजेका ती केही वर्षहरू, साथीभाइसित
बिताउन साचेका ति दिनहरू सामाजिक क्रियाकलापमा सहभागी भएर केहि योगदान गरौला भनेर साँचेका
दिनहरू, आफन्त र छिमेकीका बिहे पूजा उत्सवहरुमा सहभागी हुनलाई साँचेका दिनहरू, परिवारसित
घुम्न जाने फिल्म हेर्न जाने भनेर साँचेका दिनहरू, एकाएक झ्याप्प बत्ति निभे जसरी —अब फर्केर आउनेवाला छैनन्।
******************************************************************************************************
म त्यस्तै राति
एक बजेतिर मरेको
हुँला।
त्यो रात मलाई
त्यही अस्पतालमा राखिदिएछन्।
अस्पतालको चिसो
कोठामा रात बित्यो।
मेरा लागि त्यो
रात कति लामो
थियो, मलाई थाहा
भएन। समयको हिसाब
हराइसकेको थियो।
घडी चलिरहेको थियो
होला, मान्छेहरू ओहोरदोहोर
गरिरहेका थिए
होलान्, अस्पतालका बत्तीहरू
बलिरहेकै थिए
होलान्। तर
म त त्यहाँ
पनि थिइनँ।
बिहान छ बजेतिर
मेरो शरीर घर
लैजाने कुरा भएछ।
अनि अहिले...
म आफ्नै आँगनमा
छु।
तर यसपटक म
उभिएको छैन।
म आफ्नै अगाडि
लम्पसार परेर
सुतेको छु।
सेतो कपडाले बेरिएको
मेरो शरीर आँगनको
बीचमा राखिएको छ।
बिहानको घाम
अझै राम्ररी आँगनमा
पसिसकेको छैन।
रातको चिसोपन जमिनमा
बाँकी नै छ।
वरिपरि मान्छेका पाइला
बढिरहेका छन्।
कोही नजिक आउँछन्,
केही बेर हेर्छन्,
अनि फेरि पर
जान्छन्।
म भने त्यहीँ
छु।
आफ्नै शरीरलाई हेरेर।
कस्तो अचम्म!
जुन शरीरलाई मैले
जीवनभर ‘म’ भनेर
चिनें, अहिले त्यो
शरीर मबाट छुट्टिएर
त्यहीँ लम्पसार परेको
छ।
शिरतिर छोरा बसेको
छ।
ऊ एकोहोरो भएको
छ।
आँखा सुन्निएका छन्।
रातभरि रोएको जस्तो
देखिन्छ। कहिले
मेरो अनुहारतिर हेर्छ,
कहिले भुइँतिर। कसैले
केही सोध्यो भने
सुनेजस्तो गर्छ,
तर जवाफ दिँदैन।
ऊ स्तब्ध छ।
शोकमा छ।
सायद उसले जिन्दगीमा
कहिल्यै कल्पना
नगरेको अवस्था अहिले
उसको अगाडि आइपरेको
छ।
हिजोसम्म उसको
बुबा थियो।
आज त्यही बुबा
उसको अगाडि निर्जीव
भएर सुतेको छ।
म उसलाई हेर्छु।
मन लाग्छ, उसको
टाउकोमा हात
राखेर भनूँ—
“बाबु,
नरोऊ।”
तर मेरो हात
उठ्दैन।
मेरो मुख खुल्दैन।
मेरो आवाज निस्कँदैन।
ऊलाई अँगालो हालेर
एकपटक भनूँ जस्तो
लाग्छ—
“म
छु नि।”
तर म छैन।
यही कुराले मलाई
पहिलोपटक साँच्चिकै
डर लाग्यो।
मरेको डर होइन।
अब मेरा मान्छेहरूलाई मेरो आवश्यकता पर्दा म केही गर्न नसक्ने डर।
अलिक पर दलानमा
बुढी छिन्।
उनको रुवाइले घरको
भित्ता नै काँपेजस्तो
लाग्छ।
डाको छोडेर रोइरहेकी
छिन्।
कहिले मेरो नाम
लिएर बोलाउँछिन्, कहिले
आफ्नै छाती पिट्छिन्।
कहिले भुइँमा बस्छिन्,
कहिले उठ्छिन्। उनलाई
सान्त्वना दिन
आएका महिलाहरू वरिपरि
छन्। कसैले उनको
काँध समातेको छ।
कसैले पानी दिइरहेको
छ।
तर उनको रुवाइलाई
कुनै पानीले रोक्न
सक्दैन।
म केही पाइला
पर उभिएर उनलाई
हेर्छु।
हिजो राति सुत्नुअघि
मैले उनलाई सामान्य
आवाजमै भनेको थिएँ—
“भोलि
बिहान अस्पताल जान
पर्छ कि क्या
हो?”
कति सामान्य वाक्य
थियो त्यो।
मलाई के थाहा,
त्यो हाम्रो अन्तिम
कुराकानी हुँदैछ
भनेर।
मलाई के थाहा,
भोलिको बिहान म
अस्पतालबाट फर्किंदा
हिँडेर होइन, अरूले बोकेर फर्किनेछु
भनेर।
आँगनमा बिस्तारै मान्छेहरू
थपिँदै छन्।
केही आफन्तहरू हतार–हतार आइरहेका छन्।
कसैको हातमा झोला
छ। कोही फोनमा
कुरा गर्दैछ। कोही
कसैलाई केही सोध्दैछ।
सबैका अनुहारमा हतार
छ, तर त्यो
हतारभित्र एउटा
अजीब किसिमको अन्योल
पनि छ।
म उनीहरूका कुरा
सुनिरहेको छु।
“पशुपति
कतिखेर लैजाने?”
“पण्डित
खोइ?”
“अरू
सामान जुट्यो?”
“लुगा
त तयार छ?”
“दाउरा
के भयो?”
“खासमा
के भएको हो
र?”
अर्को आवाज आउँछ—
“मलाई
त थाहा नै
थिएन नि!”
अर्कोले भन्छ—
“मेरो
त अस्ति मात्रै
भेट भएको थियो।”
“केही
भएको जस्तो नै
लाग्दैनथ्यो।”
“हिजोसम्म
त ठिकै हुनुहुन्थ्यो
रे!”
“अचानक
कसरी यस्तो भयो?”
यी कुराहरू सुनिरहँदा
मलाई अचम्म लाग्छ।
"तँ
कसरी बाँचिरहेछस, गार्हो
सार्हो केही परेको
छ?" भनेर जिन्दगी
भर कसैले कहिल्यै
सोधेनन तर आज
सबले "कसरी मर्यो
?" भनेर
सोधिरा छन!
मान्छेको जुनि
पनि अचम्मको हुने
रहेछ!
कति छिटो मान्छेको
जीवन केही वाक्यमा
खुम्चिँदो रहेछ।
“हिजोसम्म त ठीकै थिए।”
बस्।
मेरो पूरै जीवनको
अन्तिम परिचय जस्तो।
कसैले मेरो जागिर
सम्झन्छ।
कसैले मेरो पद।
कसैले गाउँको कुरा
गर्छ।
कसैले छोराको पढाइको
कुरा गर्छ।
कसैले भन्छ—
“राम्रै
मान्छे हुनुहुन्थ्यो।”
कसैले टाउको हल्लाउँछ।
तर मलाई भने
ती सबैभन्दा माथि
एउटा प्रश्नले घोचिरहेको
छ—
के साँच्चै म राम्ररी बाँचेको थिएँ?
आँगनमा मेरो शरीर
चुपचाप छ।
छोरा शिरतिर बसेर
रोइरहेको छ।
दलानमा श्रीमतीको रुवाइ
अझै रोकिएको छैन।
आफन्तहरू मेरो
अन्तिम यात्राको तयारी
गरिरहेका छन्।
कोही पण्डित खोज्दैछ।
कोही पशुपतिको समय
मिलाउँदैछ।
कोही काठ र
अरू सामानको हिसाब
गर्दैछ।
कसैले फोनमा खबर
सुनाउँदैछ।
र म?
म सबै कुरा
हेर्दैछु।
पहिलोपटक आफ्नो
घरलाई यति बाहिरबाट
हेर्दैछु।
यही आँगनमा म
कति वर्ष हिँडेँ।
यही दलानमा कति
साँझ बिताएँ।
यही घरमा छोराछोरी
हुर्किए।
यही आँगनमा चाडपर्व
मनाइयो।
यही ठाउँमा मैले
कति पटक साथीभाइसँग
हाँसेँ।
कति पटक रिसाएँ।
कति पटक श्रीमतीसँग
सानोतिनो कुरामा
झगडा गरेँ।
कति पटक छोराछोरीले
बोलाउँदा “अहिले
फुर्सद छैन” भनेँ।
आज त्यही घरमा
म छु।
तर कसैको कुनै
कामको छैन।
मलाई लाग्यो—
जिन्दगीभर मैले
घर बनाइरहेँ।
तर आज त्यो
घरमा मेरो आफ्नै
ठाउँ कतै रहेनछ।
मेरो शरीर आँगनमा
थियो।
मेरो परिवार मेरो
वरिपरि थियो।
तर म—कहाँ थिएँ?
******************************************************************************
आर्यघाट
मलाई
आर्यघाट ल्याइएको छ।
बिहानको
दस बज्दैछ। बागमती आफ्नै गतिमा बगिरहेको छ। घाटमा धुवाँ
उडिरहेको छ। कतै मन्त्र
पढिँदैछ, कतै काठ थपिँदैछ। जीवन र मृत्यु यहाँ
सायद यति नजिक छन् कि छुट्याउनै गाह्रो
हुन्छ।
मेरा
साथीभाइ र आफन्तहरू बिस्तारै
आइरहेका छन्।
कोही
नजिक आएर हात जोड्छन्। कोही मेरो अनुहारतिर एकछिन हेरेर चुप लाग्छन्। कोही काँधमा हात राखेर परिवारलाई सान्त्वना दिन्छन्।
उनीहरूको
आँखामा दुःख छ।
तर
त्यो दुःखभित्र एउटा प्रश्न पनि देख्छु—
‘मलाई पनि यसरी नै त हुँदैन?’
मान्छेको
मृत्युले आफ्नै मृत्यु सम्झाइदिँदो रहेछ।
अब
मलाई चितामा राखिएको छ।
घाटेले
काठ मिलाइसकेको छ। पण्डित कर्म
गरिरहेका छन्। फूलले चिता सजाइएको छ। छेउमा मेरा
मलामीहरू उभिएका छन्।
छोरो
दागबत्ती दिन तयार हुँदैछ।
उसको
अनुहार हेर्न सकिरहेको छैन।
हिजोसम्म
जसको भविष्यको योजना बनाइरहेको थिएँ, आज त्यही छोराको
हातमा मेरो अन्तिम आगो छ।
पण्डित
केही मन्त्र पढ्छन्। छोरोले जे गर्नुपर्छ, गर्दै
जान्छ।
म
भने उसलाई हेरेर मनमनै भन्छु—
‘बाबु,
डराउनु पर्दैन।’
तर
ऊसम्म मेरो आवाज पुग्दैन।
मलामीहरूबीच
कुरा चलिरहेको छ।
“छोटो
आयु लिएर आएको रहेछ।”
“सम्पत्ति
राम्रै जोड्या छ क्यारे।”
मलाई
अनायास हाँसो उठ्छ।
हो,
सम्पत्ति जोडेको थिएँ।
त्यही
जोड्दै त जिन्दगी बिताएँ।
अर्को
आवाज आउँछ—
“मलाई
त साढे दससम्म अफिस पुग्नु छ।”
“जल्न
टाइम लाग्छ होला, म त अब
जान्छु।”
म
चितामाथिबाट उनीहरूलाई हेर्छु।
मनभित्र
केही चसक्क हुन्छ।
तर
फेरि आफूलाई सम्झाउँछु—अफिस त जानैपर्छ नि।
मैले
पनि त अरूको मृत्युमा
धेरै बेर बस्न नसकेर फर्किएको थिएँ।
त्यसपछि
एकजना पुरानो साथीले भन्यो—
“जिन्दगी
यस्तै हो। अस्ति गेट–टुगेदरमा कस्तो नाच्या थियो! त्यही अन्तिम भयो।”
अस्ति...
मलाई
त्यो रात सम्झना आयो।
साथीहरूको
बीचमा म हाँसेको थिएँ।
नाचेँ। ठट्टा गरेँ। कसैले भनेको थियो, “तँ अझै बूढो
भा'छैनस् यार!”
म
पनि हाँसेको थिएँ।
त्यही
हाँसो अन्तिम रहेछ।
कसैले
फेरि सोध्यो—
“क्रिया
कहाँ बस्छन्?”
“थाहा
छैन।”
“संगै
आउला है।”
त्यति
भनेर कुरा फेरि अर्कैतिर मोडियो।
म
चुपचाप सुनिरहेँ।
कति
छिटो जीवन एउटा घटनाबाट अर्को घटनातिर सर्दोरहेछ।
मेरो
लागि संसार सकिएको छ।
तर
संसारका लागि एउटा मान्छे थपिएको छ—मृत मान्छे।
आज
पहिलोपटक आफूले अरूको मृत्युमा बोलेका वाक्यहरू आफ्नै कानले सुन्दैछु।
“जिन्दगी
यस्तै हो।”
“सबैले
जानैपर्छ।”
“समय
आएपछि कसको के लाग्छ र?”
कति
सजिलै भनिँदो रहेछ।
जबसम्म
आफ्नै पालो आउँदैन।
मलाई
अहिले कसैसँग गुनासो गर्न मन छैन।
बरु
आफूलाई सम्झेर लाज लागिरहेको छ।
जसरी
आज उनीहरूलाई अफिसको हतार छ, त्यसरी नै
मलाई पनि हुन्थ्यो।
जसरी
उनीहरूलाई अर्को काम छ, मलाई पनि
हुन्थ्यो।
जसरी
मैले आज उनीहरूको व्यवहारमा
औपचारिकता देखेँ, सायद अरूले पनि मेरो व्यवहारमा त्यही देखेका होलान्।
मैले
कसैलाई दोष दिने ठाउँ छैन।
म
आफैँ पनि त्यस्तै थिएँ।
तर
एउटा कुरा चाहिँ अहिले असह्य गरी सम्झना आइरहेको छ—
मैले किन यति धेरै पर्खिएँ?
आज लाग्दै छ , म मेरा लागि पनि जिउनु पर्थ्यो, हरेक दिन आफैलाई चिन्नलाई केही समय छुट्याएर एक्लै रमाउन सक्या भए, हरेक दिन जसरीपनी
केहिसमय परिवारलाई दिएको भए, हरेक दिन केही समय साथीभाईलाई, अनि सामाजिक काममा बिताएको भए सायद जिन्दगीको सन्तुष्टि अलिक बढी हुन्थ्यो कि? म
मरेको केही दिनमै "म पनि यो दुनियाँमा थिए! " भन्ने नामोनिशान नै नहुने जिन्दगी पो बिताइएछ यार!
थुइक्क! म त खाली पैसा, पावर र पदकै पछि पो दौडेछु।
चितामा
आगो सल्किएको छ।
पहिलो
ज्वाला मेरो शरीरको छेउबाट माथि उठ्यो।
छोरो
पछाडि सरेर उभिएको छ।
म
उसलाई हेर्छु।
उसको
आँखाबाट आँसु बगिरहेको छ।
अचानक
मलाई एउटा कुरा सम्झना आयो—
उसले
एकपटक मलाई कतै घुम्न जाऔँ भनेको थियो।
मैले
भनेको थिएँ,
“अहिले
कहाँ समय छ र बाबु?
पछि जाउँला।”
त्यो
‘पछि’ आज आएछ।
तर
म गइसकें।
आगो
बिस्तारै फैलिँदैछ।
धुवाँ
माथि उठिरहेको छ।
म
आफ्नै जीवनलाई धुवाँजस्तै हराउँदै गएको देखिरहेको छु।
अनि
मनमा एउटै कुरा आउँछ—
यदि फेरि एकपटक
बाँच्न पाएँ भने, मसँग धेरै कुरा चाहिँदैन।
न
ठूलो पद।
न
धेरै पैसा।
न
थप सम्पत्ति।
म
केवल ‘पछि’ भन्ने शब्द हटाएर बाँच्न चाहन्छु।
छोराले
बोलाउँदा त्यही बेला उसको छेउमा बस्न चाहन्छु।
छोरीले
कुरा गर्दा काम रोक्न चाहन्छु।
श्रीमतीले
चिया दिँदा मोबाइल पन्छाएर उसलाई हेर्न चाहन्छु।
साथीले
“आइज न” भन्दा समय
निकाल्न चाहन्छु।
आमाबुबा
बोलाउँदा कामभन्दा पहिले उनीहरूकहाँ पुग्न चाहन्छु।
सायद
जिन्दगी त्यति ठूलो कुरा रहेनछ।
हामीले
नै त्यसलाई ठूलो बनाउन खोज्दा—
बाँच्नुपर्ने समय सानो बनाइदिँदा रहेछौँ।
आगो
बलिरहेको छ।
म
चुपचाप हेरिरहेको छु।
र
पहिलोपटक मनमनै स्वीकार्दैछु—
मरेकोमा भन्दा, बाँचुन्जेल नबाँचेकोमा बढी दुःख लाग्दो
रहेछ।
मेरो मृत्युको खबर सुनेपछि फेसबुकमा धेरैले समवेदना लेखेछन्—
“हार्दिक श्रद्धाञ्जली”,
“दिवंगत आत्माको चिरशान्तिको कामना”,
“परिवारजनमा
धैर्य धारण गर्ने शक्ति मिलोस्।”
कसैले मेरो पुरानो फोटो राखे, कसैले आफूले मसँग बिताएको कुनै एउटा क्षण सम्झिए।
म ती सबै
पढिरहेको छु। शब्दहरू राम्रा छन्, भावुक पनि छन्। तर म अब
यति टाढाबाट हेर्न सक्ने भएको छु कि ती
शब्दभित्रको वास्तविक दुःख र औपचारिकताको बीचको
फरक पनि छुट्याउन थालेको छु। कसैलाई साँच्चिकै दुःख लागेको होला, कसैलाई एकछिन मेरो सम्झना आएको होला, अनि कतिपयले अरूले लेखेको देखेर आफूले पनि लेख्नुपर्ने ठाने होलान्।
म
मरेको पनि एक वर्ष बितेछ।
समय
रोकिँदैन रहेछ।
म
गएपछि पनि घर चलिरहेछ। बिहान
हुन्छ, बेलुका हुन्छ। चाडपर्व आउँछन्, जान्छन्। छोराछोरी आफ्ना काममा लाग्छन्। श्रीमती पनि बिस्तारै आफ्नो लयमा फर्किंदैछिन्।
सुरुका
दिनहरूमा मेरो अभाव घरका हरेक कुनामा देखिन्थ्यो होला।
अहिले
त्यो अभाव बिस्तारै जीवनको एउटा हिस्सा बनेको छ।
मेरो
तिथि आउँदा भने उनीहरू अलि बढी भावुक हुन्छन्। बाबुको मुख हेर्ने दिनमा छोरा केहीबेर चुप लाग्छ। सोह्रश्राद्धका दिन छोरीको आँखामा पनि पुरानै आँसु देखिन्छ।
ती
दिनहरूमा म फेरि उनीहरूको
सम्झनामा अलिक नजिक पुग्छु।
आजकल
फेसबुकमा पनि कहिलेकाहीँ भावुक स्टाटस लेख्छन्।
पुरानो
फोटो राख्छन्।
तल
लेखिएको हुन्छ—
“Missing you, बुवा...”
२०८३ भाद्र २७