Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Friday, April 3, 2020

अरु जीव के सोच्दा हुन् मनुष्यका बारेमा ?


युगौंदेखि हामीमाथि शासन गर्दै आएको,

यो पृथ्वीलाई आफ्नै मात्र ठान्ने,

दुनियाँमा कसैलाई नगन्ने,

यौटा अजिबको जीव बाहिर देखिदैन आजकल,

बगैचा चाहर्दैन, पाखापखेरामा घुम्दैन,

गाउ–शहर डुल्दैन,

के भो साँच्चै त्यसलाई ?


आजकल बिचरा उसलाई,

आफ्नै आँगन बिरानो भएको छ,

छिमेक प्रदेश भएको छ ,

नातागोता र सबै सम्बन्ध टाढिएका छन,

न कसैलाई  आफ्नोमा आउन दिन्छ,

न कसैकोमा जान हिम्मत राख्छ,

बरु आफ्नै जात देख्दा टाढा भाग्छ,

मुखमा मुकुण्डो लागाएर,

मलिन मुहार बनाएर,

पुकार गर्दै छ फर्काउन पूराना पलहरु ।



प्रकृतिलाई दोहन गरेर,

हाम्रा घरबस्ति मास्दै,

हाम्रा बास उढाउँदै,

भब्य महल बनाउँदै गर्दा,

कहिल्यै सोचेकोथ्यो त्यसले,

आफ्नालागि आफैले

घर नामको जेल बनाउदै छ भनेर ?



ति मनुवाहरुले के के गरेनन?

के के थुपार्न के के बेचेनन ?

ज्ञान बेचे, ईमान बेचे, विवेक बेचे ,

बेच्दा बेच्दै आफै  बेचिएर पनि

बेच्न हुने र नहुने सबै बेचे,

अनि आज ,

थुपारेका सबै कुरालाई छेउँमा राखेर,

छुन पनि डराउँदै, 

आज बाँच्नका लागि ,

मरिहत्य गरेर लागेका छन ।


युगौंपछि बल्ल आजकल,

यो पृथ्वी हाम्रो भएको छ,

जे भएको छ राम्रो भएको छ।

हावा स्वच्छ भएको छ,

कोलाहल शान्त भएको छ,

हामीलाई शान्ति भएको छ,

यौटा जीव जेलमा जाँदा,

हामी पशुपन्छी खुसि हुनपर्ने,


यो कस्तो अनौठो भएको छ ।

No comments:

Post a Comment