मेरो मनको बगैचामा,
पुतली जस्तै फुर-फुर गर्दै,
घरि-घरि आउने,
मेरा असीमित इच्छाहरुले ,
जीवन नै रङ्गाइदिन्छन/
शुरुमा स्पर्श गर्छु,
मायाले मुसार्छु,
सपनाको संसारमा सजौँउछु ,
बिस्तारै बाध्यता र बिवशताको बहानामा ,
मारिदिन्छु यो मन भित्रै !
इच्छा मारेको अभियोगमा,
जेल जानुपर्ने भए,
सायद मलाई पनि हुन्थ्यो होला
आजीवन कारावास,
सर्वस्वहरण सहित !
इच्छा मारेको अभियोगमा,
पाप लाग्ने भए ,
मलाई पनि तयार छ होला ,
तात्तातो तेलको कराईमा,
यम दूतहरुले उमाली राखेको कुम्भिपाक!
अपरिमेय मेरा नियतिहरु बीच,
मेरो आफ्नै मनको बधशालामा,
निरन्तर निर्मम हत्या गरिदिएको छु,
ति असंख्य कलिला इच्छाहरुको,
यद्दपि, म घुमी रहेछु निस्फिक्री /
इच्छाहरुको कसाही हुन चाहन्न म,
अब मलाई 'म' भएर बाँच्ने इच्छा छ,
अलि अलग रुपमा,
मनुष्य भएर भबिष्य खोज्ने इच्छा छ,
कि हत्या गरिदिउ त्यसको पनि ?
No comments:
Post a Comment