तिनीहरू आउनेछन्
र भन्नेछन्—
“तँ फोहोरी छस्!”
तिमी नुहाएर सफा भएको देखेपछि,
उनीहरू चुप लाग्नेवाला छैनन्!
अनि नियालेर हेर्नेछन्:
तिम्रो कपाल,
कतै चायाँले भरिएको छ कि भनेर,
तिम्रो कपडा,
कतै दाग लागेको छ कि भनेर।
कपडा, हातखुट्टा—
सबै हेर्नेछन्।
कहीं कतै दाग, फोहर नदेखेपछि,
रोकिनेवाला छैनन् तिनीहरू!
अनि,
तिनीहरूले तिम्रो नाक हेर्नेछन्—
कतै सिँगान छ कि भनेर!
त्यो पनि सफा देख्नेछन्!
त्यसपछि कान हेर्नेछन्—
कतै कानेगुजी पो देखिन्छ कि भनेर!
त्यो पनि सफा देखेपछि,
अनि सोच्नेछन्:
“कहीं न कतै फोहर त हुनेपर्ने!”
तैपनि तिनीहरू चुप लाग्ने छैनन्।
केही न केही त कसो नभेटिएला?
अनि भन्नेछन्—
“काखी त गन्हाउँछ होला!”
तर तिम्रो काखी पनि गन्हाएको हुनेछैन।
अब तिनीहरू
अलि नजिक आउनेछन्,
अनि तिम्रो शरीरलाई अझ नजिकबाट हेर्ने,
बुझ्ने प्रयास गर्नेछन्!
एक जनाले तिम्रो मलद्वारमा औँला घुसारेर,
आफ्नो नाकले सुँघ्दै गर्वसाथ भन्नेछ—
“देख्यौ? मैले त उहिल्यै भनेकै थिएँ नि!
यो फोहोरी गन्हाउँछ भनेर!”
तर तिमी कत्ति विचलित नभई,
आफ्नो अर्जुनदृष्टिलाई पछ्याइरहनू!
बस!
उनीहरूलाई फोहर खोज्न छोडिदिनु!
उनीहरू फोहर खोजिरहन्छन्!
No comments:
Post a Comment